हेटौंडा, माघ ५
रिक्त सभामुख पदमा अग्निप्रसाद सापकोटालाई उम्मेद्वार बनाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान दुवै अध्यक्षबीच भएको छलफलमा सापकोटालाई सभामुख बनाउने सहमति भएको नेकपा स्रोतले जानकारी दिएको हो ।
बलात्कार प्रयासको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ मा राजीनामा दिएपछि सो पद रिक्त थियो । दुवै अध्यक्षबीच सहमति भएपनि सभामुखबारे अन्तिम निर्णय लिन नेकपा सचिवालय बैठक ४ बजे बालुवाटारमा बस्दैछ । सापकोटा तत्कालिन माओवादी केन्द्रका नेता हुन् ।