सांकेतिक तस्वीर

हेटौंडाः हेटौंडाको क्याम्पाडाँडामा विभत्स अवस्थामा तेस्रोलिङ्गी अजिता भुजेलको शव भेटिएको भोलिपल्टै अर्की एक युवतीको शव फेला परेको छ । आज आइतबार बिहान हेटौंडा उपमहानगरपालिका–१८, हर्नामाडी एक्लेखेतमा एकजना युवतीको शव फेला परेको हो ।

हर्नामाडी जयतारस्थित पन्चकन्या विद्यालय नजिक एकजना युवतीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । फेला परेको शव हेटौंडा–१८ की २० वर्षीय मिना अधिकारीको रहेको प्रहरीले पुष्टि गरेको छ । घर नजिकैको गहुँबारीमा फेला परेको मिनाको शव प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि हेटौंडा अस्पतालमा ल्याएको छ । उनको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । हत्या गरेर उनको शव त्यहाँ फालिएको स्थानीय वासिन्दाको आरोप छ।

मिनाको हत्या गरेको आशंकामा उनका श्रीमान एकराज अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक शुशिलसिंह राठोरले जानकारी दिएका छन् । उनका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।