हेटौंडा,१२ मंसीरः मकवानपुरको बकैया–१० मन्थली केराबारीस्थित प्रसिद्ध माविको विद्यालय भवन समुदायलाई हस्तान्तरण गरिएको छ । तोकिएको समयभन्दा करिब ३ महिनाअघि नै निर्माणकार्य सम्पन्न गरेर स्वच्छन्द खानी निर्माण सेवाले विद्यालय भवन आज एक समारोहबीच समुदायलाई हस्तान्तरण गरेको हो ।

दातृ निकाय जाइकाको सहयोगमा २ करोड २३ लाख रुपैयाँ लागतमा भवन निर्माण भएको हो । ६ कोठे सुविधासम्पन्न पक्की भवनमा शौचालयको व्यवस्था तथा अपांगमैत्री भवन निर्माण भएको दावी गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम बहादुर घिमिरेको सभाध्यक्षतामा सम्पन्न भएको भवन हस्तान्तरण कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरका प्रमुख बद्रीबहादुर पाठकको विशिष्ट आतिथ्यता रहेको थियो ।

कविता लामा र बालकृष्ण घिमिरेले सञ्चालन गरेको कार्यक्रममा जाइकाको तर्फबाट परामर्शदाता, इन्जिनियर तथा विद्यालयका अभिभावक, विद्यार्थी र स्थानीय बासिन्दा सहभागी भएका थिए । सुविधासम्पन्न भवन निर्माण भएपछि ढुक्कसँग पठनपाठन गर्ने वातावरण बनेकोमा विद्यार्थी तथा अभिभावकहरु खुशी भएको विद्यालयका प्रधानाध्यापक चन्द्र घिमिरेले बताए ।