Photo: Google

हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ हेटौंडामा आएका छन् ।

हेटौंडाबाट सञ्चालित रेडियो सन्देशको वार्षिकोत्सव समारोहका लागि समय दिएपनि सभामुख कृष्णबहादुर महराको राजीनामा लगायतका कार्यक्रमले गर्दा उनी आज साँझ ढिला गरी हेटौंडा आइपुगेका हुन् ।

हेटौंडा आएपछि प्रवक्ता श्रेष्ठले रेडियोको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै शुभकामना दिए । रेडियोले सञ्चारमा खेलेको भूमिकाको चर्चा गर्दै प्रवक्ता श्रेष्ठले सरकारले मिडियालाई महत्वका साथ हेरेको बताए । उनले मिडिया जिम्मेवार भएर प्रस्तुत हुँदै सरकारको कामको सही मूल्यांकन गरिदिनु पर्ने पनि बताए ।

औपचारिक सभा पछि आइपुगेका उनलाई शुभेच्छुक तथा कार्यकर्ताले कार्यक्रमस्थलमा स्वागत गरेका थिए ।
यसैबीच, भोली बुधबार बिहान ७ बजे हेटौंडा, सानोपोखरास्थित पुष्पलाल (पार्टी कार्यालय)मा प्रवक्ता श्रेष्ठसँग कार्यकर्ता भेटघाट कार्यक्रम तय गरिएको नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामीले जानकारी दिए ।