नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति देखि लागू हुनेगरी खाना पकाउने एलपी ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

निगमले ग्यासको मूल्यमा प्रति सिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ बढाएको छ । नयाँ मूल्यसूची अनुसार ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढेर १४ सय २५ रुपैयाँ पुगेको छ । त्यस्तै, पेट्रोलमा दुई रुपैयाँ बढेर १ सय २९ रुपैयाँ, डिजेल र मट्टितेलमा दुई/दुई रुपैयाँ वृद्धि गरेर १ सय १२ रुपैयाँ कायम भएको छ ।

निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँ बढाएर ८४ रुपैयाँ पुर्याएको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १९ अमेरिकी डलरले बढेर ७ सय ५४ कायम भएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले नेपालमा पनि बढ्न गएको निगमले दाबी गरेको छ ।