हेटौंडा,१४ असोजः संघीय सांसदका सभामुख कृष्णबहादुर महरा विवादमा मुछिएका छन् । सभामुख महरामाथि संसद सचिवालयकी एकजना महिला कर्मचारीलाई यौन दूव्र्यवहार गरेको आरोप लागेको हो । ती महिलाले आइतबार राति सभामुख महराले आफुमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् । तर, सभामुखको सचिवालयले भने उक्त आरोपको खण्डन गरेको छ ।

सचिवालयका प्रेस सल्लाहकार डिल्ली मल्लले हिजो साँझ विज्ञप्ति निकालेर आरोपको खण्डन हुन् । सोमबार विभिन्न सञ्चारमाध्यमहरुले ती महिलालाई उदृत गर्दै समाचार प्रकाशित गरेपछि सामाजिक सञ्जाल फेसबुक, ट्वीटर लगायतमा सभामुखको पक्ष विपक्षमा टिप्पणी भएपछि सचिवालयले आरोपको खण्डन गरेको हो । प्रेस सल्लाहाकार मल्लले खण्डनमा आरोप सत्य नभएको भनेका छन् । उनले उक्त घटना कपोकल्पित, भ्रामक र सोच्नै नसकिने भनेका छन् । सभामुख महरा आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको, २ बजेतिर बालुवाटार निवासमा फर्किएको र त्यसपछि अन्यत्र कहीँ नगएको खण्डनमा भनिएको छ ।

‘संघीय संसद् सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद् सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो,’ विज्ञप्तिमा भनिएको छ,’ ‘तर, कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा मैले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरू र ती महिला पनि असन्तुष्ट थिए ।’
यस्तो छ, सभामुखको सचिवालयले निकालेको खण्डनः

घटनाका सम्बन्धमा औपचारिक रुपमा जानकारी दिन आज सभामुखको सचिवालयले पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।