काठमाडौं, १० असोज । दशैं नजिकिएसँगै नेपालीहरुको घर–परिवारमा नयाँ नोटको खोजी सुरु हुन्छ । दशैंमा टीका लगाएर नयाँ नोटको दक्षिणा दिने चलन निकै पुरानो भइसक्यो ।
यही प्रचलनलाई निरन्तरता दिन नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैंमा नयाँ नोट निस्काशन गर्छ । यसपालीको दशैंलाई आजैबाट नयाँ नोट वितरण सुरु गरिएको छ । धेरै व्यक्तिहरु बिहानैदेखि नयाँ नोटका लागि लाइन लागिरहेका छन् ।
नयाँ नोटमा केरमेट वा जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले समय–समयमा अनुरोध गर्दै आएको छ। अहिले त कानूनमै पनि नोटमा केरमेट गरे कडा कानूनको व्यवस्था समेत छ ।
एक वर्ष अघिदेखि लागू भएको मुलुकी अपराध संहिता ऐन को दफा २६३ मा नोटमा केरमेट गरे, जलाए तथा नोटमा विभिन्न किसिमले हानी नोक्सानी पुर्याएमा ३ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।