हेटौंडाः दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हेटौंडामा सरकारविरुद्ध नाराबाजी सहित प्रदर्शन गरेको छ ।
हेटौंडामा रहेको कांग्रेस जिल्ला पार्टी कार्यालयबाट निस्किएको विरोध प्रदर्शन र्याली बजारका विभिन्न क्षेत्र परिक्रमा गरी बुद्धचोकमा पुगेर विरोध सभा भएको थियो । विरोध प्रदर्शनमा सहभागीहरुले “वामपन्थी सरकार मुर्दावाद” भन्दै सरकार तथा विपक्षी बिरुद्ध नारावाजी गरेका थिए ।
सभालाई सम्बोधन गर्दै ३ नम्बर प्रदेश कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले वर्तमान सरकार काण्डै काण्डमा फसेको आरोप लगाए । सरकार हत्या, हिंसा, बलात्कार लगायतका काण्ड, सुन काण्ड, वाइडबडी जस्ता काण्डै काण्डमा फसिरहेको उनको भनाई छ ।
नेता बानियाँले सरकार असफल हुँदा राज्यव्यवस्था विरोधी तत्व सल्बलाएको पनि बताए । देशमा नयाँ संविधानमार्फत व्यवस्था फेरिए पनि कम्युनिष्टको कारण पूर्वराजादेखि वर्तमान व्यवस्थाविरोधीहरु सल्बलाउन थालेको उनले बताए । उनले संविधान विपरित ऐन कानून निर्माणमा सरकारले जबरजस्ती गरे कांग्रेसले सशक्त प्रतिकार गर्ने चेतावनी दिए ।
उक्त पार्टीले गत भदौ २५ गतेदेखि दोस्रो चरणको जागरण अभियान सुरु गरेको थियो । अभियानको अन्तिम दिन आज मंगलबार कांग्रेसले ७७ जिल्ला सदरमुकाममा जिल्ला सभापतिको नेतृत्वमा विरोध र्यालीसहित सभाको आयोजना गरेको छ ।