हेटौंडा,१३ साउनः मकवानपुरमा रहेर नेपाली साहित्य तथा शिक्षाको क्षेत्रमा क्रियाशील रहँदै आएकी अप्सरा तिम्सिनाको गएराति निधन भएको छ ।
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी तिम्सिनाको चितवनस्थित अस्पतालमा उपचार गराई हेटौंडा फर्किने क्रममा हृदयघातका कारण आइतबार राति निधन भएको हो । महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष तथा लोकप्रिय साहित्यक संस्था साहित्य संगम मकवानपुरकी उपाध्यक्षको भूमिका समेत निभाइसकेकी उनी विगत लामो समयदेखि मकवानपुरमा साहित्य तथा शिक्षा सेवामा क्रियाशील छिन् । वि.सं. २०३२ साल ओखलढुंगामा जन्मिएकी तिम्सिना हाल हेटौंडामा आफ्नो परिवारको साथमा रहँदै आएकी थिइन् ।
केही समयअघि आफ्नै घरको बाथरुममा लडेर सामान्य घाइते भएकी उनलाई ज्वरो आउने तथा जिउ गल्ने समस्या देखिएको थियो । यसै शिलशिलामा उपचारको लागि हेटौंडाका अस्पताल हुँदै चितवन, भरतपुर लगिएको थियो । तिम्सिनाले केही समयअघि अभ्यन्तर कथा संग्रह सार्वजनिक गरेकी थिइन् । यसअघि नै उनको एउटा कविता संग्रह पनि प्रकाशित छ ।
शिक्षा तथा साहित्य सेवामा लागेर सामाजिक क्षेत्रमा क्रियाशील रहेकी उनको निधन पत्याउनै नसकिने घटना भएको उनका शुभचिन्तकहरुको प्रतिक्रिया छ । उनको निधनले मकवानपुरे साहित्यमा ठुलो क्षति पुगेको साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलले बताए । हालै उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिइ हेटौंडास्थित राप्ती किनारमा दाहासंस्कार गरिएको छ ।
उनको अन्त्यष्टिका लागि आफन्त, शिक्षा र साहित्य क्षेत्रका व्यक्तित्व, उनका अन्य साथीभाईका साथै उनका विद्यार्थीहरु र ३ नं. प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पनि राप्ती किनारमा पुगेका छन् ।