– पविना लामा

घटना मकवानपुर हेटौंडा उपमहानगरपालिका भित्र रहेको कुनै एउटा वडाको हो । घट्ना यही जेठ महिनामा घटेको हो । घटनाको पात्र १५ वर्षीय बालिका संगिता (नाम परिवर्तन) हुन् ।
उनी घर परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण रोजगारीको लागि काठमाण्डौं जाने तयारी गर्दै गर्दा साथीको घर हाँडीखोला पुगिन् । उनले त्यहा रात बिताउन बाध्य भईन् । यसै क्रममा उनको भेट बकैया गाउँपालिकाको एक युवकसंग भयो । ती युवक २८ वर्षीय बालकृष्ण तिमल्सिना हुन् । संगिता (नाम परिवर्तन) र बालकृष्णको परिचय हुन पुग्यो । एक आपसमा सामिप्यता बढ्दै गयो । बालकृष्णले संगितालाई आफ्लो नजिक बनाउन आफु अविवाहित रहेको बताउदै उनीसँग बिवाह गर्ने बतायो ।
संगिता उमेरमा सानै भएकीले बालकृष्णको कुरा सही र गलत के हो भन्ने छुटुयाउन सक्ने कुरै भएन । बालकृष्णले संगितालाई आफुले विवाह गरेर आफुसंगै राख्ने बताएपछि उनले सो कुरालाई विश्वास गर्छिन् । तर यो सबै बालकृष्णले संगितालाई फकाउन मात्रै भनेको हुन्छ । किनभने बालकृष्णको पहिले नै विवाह भईसकेको थियो । बालकृष्णको घरमा श्रीमती हुन्छिन् । घरमा श्रीमति हुदाँ हुदै उनले उमेर नपुगेका बालिका संगितालाई फकाएर हेटौंडा बजारमा रहेको आफ्नो कोठामा ल्याउँछन् । संगितालाई ललाईफकाई र डर त्रासमा पारेर बालकृष्णले जवरजस्ती गर्न खोज्छन् । पटक पटकको डर धम्की र कोठामा बन्धक बनाईराखेर संगितालाई बालकृष्णले जबरजस्ती करणी गर्छन् । संगिताले अस्वीकार गर्दै आफु घर जान्छु भनेर रुनेकराउने गर्दापनि बालकृष्णले संगितालाई घर जान नदिएर कोठामै बन्दी बनाएर पटक पटक करणी गर्छन् । बालकृष्णले संगितालाई आफ्नो कोठामा केही दिन बन्दी बनाई थप यौन शोषण मात्र होइन अश्लिल शब्द प्रयोग गर्दै कुटपिट समेत गर्न थाले ।
यसैक्रममा एक दिन संगिता अपराधीको पञ्जाबाट भागेर परिवारको सम्पर्कमा पुग्छिन्। संगिताले आफुमाथि भएको अन्याय परिवारलाई सबै बताउँछिन् । त्यसै अनुरुप उनी सुरक्षा निकायको ढोका ढक्ढक्याउन पुग्छिन् । माथि उल्लेखित उनीमाथि भएका सम्पूर्ण अन्यायहरु उनी आफैले सुरक्षा निकायसँग व्यक्त गरेकी हुन् ।
अहिले संगिता गर्भवति छिन् र उनको न्यायको निम्ति उनको परिवार कानुनी लडाई लड्न बाध्य भएका छन् । आशा गरौं उनले न्याय पाउनेछिन् । समाजमा स्वस्थ र सक्षम नागरिक भएर आफ्नो जीवन विताउनेछिन् ।
नोट : यो सत्य घट्ना भएको कारण पीडित बालिकाको व्यक्तिगत र सामाजिक सुरक्षालाई मध्यनजर गर्दै उनको वास्तविक नाम, थर, ठेगाना र अभिभावक गोप्य राखेका छौं । कथामा बालिकाको नाम परिवर्तन गरिएको हो ।