हेटौंडा,६ असारः नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य किरणले सामन्तवाद र साम्राज्यवादको चाकडी गरेर समाजवाद नआउने दावी गरेका छन् ।

आजबाट हेटौंडामा सुरु भएको क्रान्तिकारी युवा लिग नेपालको प्रथम राष्ट्रिय सम्मेलनमा शुभकामना मन्तव्य दिँदै उनले समाजवादमा पुग्ने सरकारको लक्ष्यलाई “कासी जाने कुतीको बाटो” भन्दै व्यंग्य गरे ।
अर्को प्रशंगमा महासचिव किरणले राष्ट्रियता र नागरिकता माथि आक्रमण गर्दै सरकारले नेपाली नागरिकका अधिकारको धज्जी उडाएको आरोप लगाए ।


सरकार वलिदान र शहीदको रगतको तागतमा बनेको भन्दै उनले तिनै शहिद तथा वेपत्ता र युद्धमा योगदान दिनेहरुलाई सरकारले बिर्सिएको बताए । महासचिव किरणले जनवर्गको अधिकार सुनिश्चित नभएसम्म क्रान्ति भइरहने दावी गरे ।
उनले भने, “सरकार आफ्नै गतिविधिका कारण बिस्तारै आन्दोलनको माहोल बन्दैछ, प्रधानमन्त्रीले आन्दोलन गर्नुहुँदैन भनेर रोकिनेवाला छैन ।” सरकारको हर्कतका कारण जनता विस्तारै आन्दोलनमा जान तयार भएको र अवस्थाले नै तेस्रो जनआन्दोलन सम्भव छ भन्ने कुरा पुष्टि गर्ने उनले बताए ।
“हामीले भन्ने गरेको जनबिद्रोह अब छिट्टै हुने देख्छु म”, उनले भनेका छन् ।
युवा वर्ग अति शक्तिशाली हुने बताउँदै उनले प्रतिक्रियावादीका विरोधमा युवा लिग सडकमा उत्रने विश्वास व्यक्त गरे । सरकारले जनतालाई धोका दिएको आरोप लगाउँदै महासचिव किरणले सरकार अधिनायकवादतर्फ लम्किरहेको आरोप लगाए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पार्टीका स्थायी कमिटी सदस्य सिपि गजुरेलले मुलुकमा अब क्रान्ति आवश्यक छैन भन्दै सरकारले जबर्जस्ती संविधान लागु गरेपनि भनेजस्तो किसिमले संविधान कार्यान्वयन हुन नसकेको बताए । क्रान्तिकारी आवाज आवश्यकता अनुसार उठ्ने कुरा हो भन्दै नेता गजुरेलले क्रान्तिको तयारी तीब्र रुपमा अघि बढाउन आवश्यक भएकोले युवाको सम्मेलन गरिएको बताए । नेताद्वय किरण र गजुरेलले पछिल्लो गतिविधिमा सरकार र नागरिकको भूमिका हेर्दा जनविद्रोह गर्ने पार्टीको उद्देश्य पूरा हुने बताए ।
क्रान्तिकारी युवा लिग नेपालका अध्यक्ष अमिर महर्जन आकाशको अध्यक्षतामा सम्मेलन उद्द्घाटन भएको हाृे । कार्यक्रममा पार्टीका पोलिटव्यरो सदस्य दिनेश शर्मा, केन्द्रीय सदस्य पवनमान श्रेष्ठ लगायत विभिन्न जवस, मोर्चाका केन्द्रीय अध्यक्षहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।