काठमाडौं,२९ जेठ । लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले आयोगले खुलाएको स्थानीय तहको कर्मचारी नियुुक्तिको विज्ञापन संविधानसम्मत भएको बताएका छन् । प्रवक्ता शर्माले सो विज्ञापन रद्द गर्न संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन पालना गर्न आयोग बाध्य नहुने पनि स्पष्ट पारे ।

संविधानको परिधिभित्र रहेर सो सम्बन्धमा आफ्नो निर्णय आफैं गर्न आयोग स्वतन्त्र रहेको उनको भनाइ छ । बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा प्रवक्ता शर्माले सो विज्ञापनको सम्बन्धमा आयोगको पूर्ण बैठक बसेर आवश्यक निर्णय लिने पनि बताए । सो विज्ञापनका लागि फारम भरेका उम्मेदवार, सरकार, संसदीय समिति कसैलाई पनि अप्ठ्यारोमा पार्ने पक्षमा आयोग नरहेको उल्लेख गर्दै प्रवक्ता शर्माले लोकसेवा आयोगलाई विवादमा पार्ने काम कसैले गर्न नहुने बताए ।