काठमाडौं, २३ चैत्र । देशभर शनिबार विहानैदेखि अन्धकार नै हुने गरी वर्षा भएको छ। चारैतिर अन्धकार छाउने गरी भएको वर्षाका कारण सर्वसाधारण घरबाहिर समेत निस्किन सकेका छैनन्।

काठमाडौं सहित देशभरिकै मौसम अहिले बदली भई केही ठाउँमा पानी परिरहेको छ। पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभरिकै मौसम बदली भई केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो प्रणाली अहिले काठमाण्डौसहित मध्य क्षेत्रमा धेरै देखिएको छ। यसकै प्रभावले उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने भएकाले सतर्कता अपनाउन उनले आग्रह गरेकी छन्।

उनका अनुसार अबको दुई घण्टाजति हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना छ। यसकै प्रभावले पश्चिमको दार्चुला र पूर्वको ताप्लेजुङ आसपास मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ। मौसमविद्का अनुसार शनिबार र आइतबार पनि मौसम खुल्ने सम्भावना छैन्।