पर्सा,१८ चैत्र । हावाहुरीका कारण घाइते भएकाहरुको अहिले बारा र पर्साका विभिन्न अस्पतालमा उपचार भैरहेको छ। ती उपचार गराइरहेका घाइते,घरवारविहीन र विरामी कुरुवालाई निशुल्क खानाको व्यवस्था गरिएको छ।

हावाहुरीले घरबार सबै उडाएको छ । यस्तो अवस्थामा घाइते तथा घाइतेका परिवारका सदस्यलाई खाना व्यवस्थापन गरिएको छ। नारायणी अस्पतालमा उपचाररत घाइतेहरुको लागि स्थानीय सद्भाव समिति, सानो पाइला, र वीरगञ्ज युवा समाज, लायन्स क्लबलगायत अरु विभिन्न संस्था र व्यक्तिगत सहयोगमा अस्पताल परिसरमै खाना पकाउने र ख्वाउने क्रम चलिरहेको वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाइँले जानाकारी दिए ।

अहिलेसम्म बिरामी र कुरुवा गरी ५ सयभन्दा बढीलाई खाना खुवाइएको उनले बताए । विपदको घडीमा स्थानीय राजनीतिक दल, संघसंस्था एकजुट भएर सहयोगमा जुटेको पनि उनले बताए।