हेटौडा,१८ चैत्र । आइतवार साँझ आएको ठूलो हावाहुरीले बारा र पर्सा जिल्लामा धनजनको क्षति भएकोले प्रदेश न.३ का मुख्य मन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानून मन्त्री शालिराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल सहितको टोलीले प्रभावित क्षेत्रमा पुगेको छ ।
उक्त टोलीले प्रभावित क्षेत्र फेटा गाउँपालिकाको पुरनीया र कलैया अस्पतालमा पुगेर घाइतेहरुलाई स्वास्थ्यलाभको कामना सहित आवश्यक सहयोगको लागि आग्रह गरिएको छ ।
उक्त दुखद घट्नामा जनधनको क्षति भएकाहरुलाई आवश्यक सहयोगको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीका अनुसार सशस्त्र प्रहरीका चार वटा ट्रक खाद्यसामग्री र त्रिपाल लगायतका अन्य आवश्यक सामग्री लिएर काठमाण्डूबाट आइतवार राति नै हिँडिसकेका छन् । देशको विभिन्न स्थानबाट सहयोगको क्रम जारी रहेको छ ।
घाइतेहरूको सम्बन्धित जिल्लाकै स्वास्थ्य केन्द्रमा उपचार भइरहेको सुबेदीले जानकारी दिए। साथै प्रदेश न. ३ बाट पनि बाराको कलैया अस्पातलमा स्वास्थ्यकर्र्मी टोली पुगेको बताइएको छ ।