हेटौंडा,१७ चैत । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश नम्बर —३ को सरकारले सुरु गरेको जनता स्वास्थ्य परिक्षण कार्यक्रमको आज उद्घाटन गरेका छन् । हेटौंडा अस्पतालबाट प्रदेश सरकारको मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम नमुनाको रुपमा सुरु भएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश नम्बर—३ को सरकारले शिक्षा स्वास्थ्य र रोजगारीको कार्यक्रमलाई प्रभाबकारी रुपमा अगाडी बढाउन बिभिन्न किसिमका नौलो कार्यक्रमहरु शुरु गरेको जानाकारी दिए ।
उनले भने “३०देखी ७० बर्ष सम्मका ब्यक्ति जसले आफुलाई स्वस्थ ठान्छन् तर अचानक रोगको शिकार भएर ज्यान जान्छ यस्ताहरुको लागि यो कार्यक्रमले कति स्वस्थ छौ भनेर जानकारी दिन्छ तर, यसमा हामीले रोग देखाउने हो उपचार भने उहाँहरुले चाहेको स्थानमा गर्नसक्नुहन्छ ।”
साथै उनले यस स्वास्थ्य परीक्षण कार्यक्रममा १६ किसिमका स्वास्थ्य परिक्षण निःशुल्क हुने जानकारी दिंदै यो कार्यक्रम बिस्तारै प्रदेश —३ को प्रत्येक जिल्लामा लैजाने उदेश्य रहेको बताए । उनले अबको दिनमा हेटौंडा अस्पताललाई पनि मेडिकल कलेजको रुपमा विकास गर्दै लैजाने धारणा राखे ।
आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले स्वस्थ रहनका लागि ब्यक्तिले सरसफाई र खानपिनमा बिशेष जोड दिनुपर्ने र स्वास्थ्य जाँच नियमित गराउनुपर्ने बताए । साथै उनले यो कार्यक्रम आर्थिक अबस्था कमजोर भएर ठुलो रोग लाग्दामात्र स्वास्थ्य संस्था पुग्ने, असहाय र शहिद परिवारहरुको लागि स्थानिय निकायको सिफारिसमा मात्र जाँच गराउने जानकारी गराए ।
कार्यक्रमको अध्यक्षता गरेका सामाजिक विकास मन्त्री युवराज दुलालले नसर्ने रोगको कारण अल्पायुमा मृत्यु हुनेको संख्या गाँउमा भन्दा पनि शहरमा बढि देखिएकोले उपमहानगरको अस्पतालबाट नमूनाको रुपमा यो कार्यक्रम सुरु गरेको जानाकारी गराए । उनले हाललाई यो कार्यक्रम हेटौंडा उपमहानगरपालिका सहित भक्तपुर, सिन्धुपालचोक, सिन्धुली र धादिङका जिल्ला अस्पतालहरुमा सुरु गरिएको बताए । यस कार्यक्रममा बिपन्न, अल्पसंख्यक, दलित, महिला, शहिद तथा बेपत्ता परिवार र सशस्त्र द्धन्द्धमा घाईतेहरुको लागि निःशुल्क स्वास्थ्य परिक्षण हुने जानकारी गराए ।
कार्यक्रममा हेटौंडा अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल, जनता स्वास्थ्य परिक्षण कार्यक्रमका परामर्शदाता डाक्टर खेम बहादुर कार्की लगाएतले बोलेका थिए ।
सामाजिक विकास मन्त्रालयका अनुसार चालु आर्थिक बर्षलाई यस कार्यक्रको लागि चाहिने रकम रु. ३ करोड २० लाख बजेट छुट्याइएको र ५ वटा स्थानिय तहका अस्पतालमा २/२ हजार ब्यक्तिको स्वास्थ्य परिक्षण गरिनेछ ।