हेटौडा,४चैत्र । थाईल्याण्ड र नेपाल बीचको दौंत्य सम्बन्धको ६० औं बर्षगाँठको अवसरमा थाई राजदुतावासले आइतवार हेटौंडाको सामुदायिक आँखा अस्पतालमा ‘न्यू भिजन न्यू फ्युचर’ मूल नाराका साथ करीब २ सय ५० जना आँखाका रोगीहरुको निशुल्क आँखा अप्रेशन गरेको छ।

नेपाल र थाईल्याण्डका बीचको दौंत्य सम्बन्ध भएको ६० बर्ष पुगेको छ। सो कार्यक्रमको पत्रकार सम्मेलनमा थाई राजदुत भाकवत तान्सकुनले थाई सरकार सधैं नेपालमा शान्ति र विकासको पक्षमा रहेको बताएका छन् । नेपालका लागि थाई सरकारले नागरिकहरुको जीवन स्तर उन्नतिका लागि सीपमूलक कार्यक्रम,अस्पतालहरुको स्तरोन्नति लगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताएका छन्। थाई राजदुत तान्सकुनले थाईल्याण्ड बौद्धमार्गीहरुको बाहुल्यता रहेको देश भएको र बैद्ध धर्मका प्रवर्तक सिद्धार्थ गौतमको जन्म नेपालमा भएकाले पनि संस्कृति तथा बौद्ध धर्मको पूण्य भूमिका रुपमा नेपाललाई थाई जनताले हेर्ने गरेको धारणा व्यक्त गरेका छन् । थाईल्याण्ड सरकारले लुम्बिनीमा थाई विहार निर्माण गरेको र बौद्ध धर्मको बारेमा जानकारी दिने उद्देश्यले प्रा.सिपोथिविथेतलाई सो विहारको प्रमुखमा नियुक्त समेत गरेको जानकारी दिईएको थियो । कार्यक्रममा थाईल्याण्डका रामा हस्पिटलका डा.सिमारोज पोर्नचाई,तिलगङ्गा आँखा अस्पतालका बरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुईत,समुदायिक आँखा अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।

डा.रुईतका अनुसार निकट भविष्यमै बाराको निजगढ र लुम्बिनीमा समुदायमा आधारित अस्पताल खोल्ने आफूहरुको योजना रहेको जानकारी दिएका छन्। हाल सञ्चालनमा रहेको हेटौंडाको सामुदायिक आँखा अस्पताललाई सफल नमूनाको रुपमा हेरिएको छ।