राष्ट्रिय जनता पार्टी, नेपालले सो पार्टीका सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसलाले विद्रोह निम्त्याउने बताएका छन् ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अदालतले अन्याय गरेको भन्दै अब राष्ट्रिय विद्रोह हुने चेतावनी दिए । नेता महतोले बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै अदालतको फैसलाले अन्यायमाथि अन्याय भएको टिप्पणी गरेका हुन् ।

रेशम चौधरी आन्दोलनकारी हो भन्दै उनले आन्दोलनकारीलाई जेल जन्मकैद हुने भए प्रचण्ड, केपी ओली र गिरिजाप्रसाद कोइरालालाई जन्मकैद किन नभएको भनी प्रश्न गरे ।
जिल्ला अदालत कैलालीले बुधबार टीकापुर हत्याको घटनाका आरोपित सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय दिने फैसला गरेको छ ।