सांकेतिक तस्वीर

हेटौंडा/हेटौंडा उपमहानगरपालिका–४ की थप एकजना महिलामा कोरोना (कोभिड–१९) भाईरस संक्रमण रहेको पुष्टि भएको छ । हेटौंडा अस्पतालबाट गत जेठ १५ गते रेफर भएकी उक्त ६१ वर्षीया महिलामा सोमबार कोरोना संक्रमण देखिएको हेटौंडा अस्पतालका डाक्टर हरि बहादुर खड्काले जानकारी दिए ।

मुटु रोगको उपचारको लागि हेटौंडा अस्पताल पुगेकी उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको थियो । उपचारका क्रममा नर्भिक अस्पतालमा रहेकी उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले सोमबार अपरान्ह नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको हो ।

उनको विषयमा थप जानकारी लिने काम भइरहेको हेटौंडास्थित आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले बताए । ‘हुप्रचौर एरिया संक्रमणको स्रोत हो भन्ने देखिँदैछ’, उनले भने । तर, कहाँबाट कसरी संक्रमण फैलिएको हो भन्नेबारे हालसम्म पत्ता लाग्न सकेको छैन ।

यसअघि हेटौंडा–४ कै अर्की एक महिलामा पनि कोरोना देखिएको थियो भने हेटौंडा–१ की गर्भवती महिला र हेटौंडा ९ का ५३ वर्षीय पुरुष तथा थाहा नगरपालिकाको ३ जनामा कोरोना भाइरस संक्रमण रहेको पाईएको थियो । योसँगै मकवानपुरमा कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।

जसमध्ये एक जना हेटौंडास्थित श्रमिक माविको आइसोलेसन वार्डमा उपचाररत छन्, भने एक गर्भवती महिला ३ दिनमै कोरोना मुक्त भएर घर फर्किएकी छन् । साथै थाहा नगरपालिकाका ३ जना गरी हालसम्म जिल्लाका ४ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । अन्यको काठमाडौंमा उपचार भइरहेको छ ।