हेटौंडाः रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न माग गर्दै हेटौंडामा प्रदर्शन भएको छ । अन्तरजातीय विवाह गर्न खोजेकै कारण हत्या गरिएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाहीको मागसहित शुकबार हेटौंडामा प्रदर्शन भएको हो ।
मकवानपुर जिल्लामा कार्यरत दलित अधिकारकर्मी र विभिन्न क्षेत्रमा क्रियाशिल अधिकारकर्मीहरुले हेटौंडाको बुद्धचोकमा सो घटनाको बिरोध तथा पीडित पक्षलाई न्याय दिन माग गर्दै प्रदर्शन गरे । जातीय विभेदका कारण देशलाई आन्तरिक युद्धमा नधकेल्न पनि प्रदर्शनकारीहरुले आग्रह गरेका छन् ।
‘दलित समुदायले हत्या, कुटपिट र अपमान कहिलेसम्म सहने?’, सबै खाले जातीय बिभेदको अन्त्य गर, जातीय भेदभाव छुवाछुत ऐन २०६८ अनुसार दोषीलाई कारवाही गर, सभ्य समुन्नत समाजको निर्माण गर्ने जिम्मा तपाईको हो लगायतका नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरिएको हो ।
प्रर्दशनमा मकवानपुरका दलित अधिकारकर्मी जंगबहादुर बिश्वकर्मा, युक्तलाल बिश्वकर्मा, केशव रसाईली, रत्नलाल बिश्वकर्मा, रामकुमार नेपाली, अम्बिका बिश्वकर्मा, इश्वरी रसाइली, कल्पना बिश्वकर्मा, गोपिलाल बिश्वकर्मा, राष्ट्रिय दलित पत्रकार संघ, बागमती प्रदेशका तर्फबाट कमल कुमार बिश्वकर्मा र नेपाल मानव अधिकार संगठनकी अप्सरा बस्नेत लगायत मकवानपुरका दलित अधिकारकर्मीहरुको उपस्थिती रहेको थियो ।
अधिकारकर्मीहरुले अहिलेको २१ औं सताब्दीमा पनि जातीय विभेदका नाममा हुने यस्ता अमानवीय घटनाहरुको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्नुपर्ने माग गरेका छन् । विरोध प्रदर्शनमा बोल्दै दलित अधिकारकर्मी जंगबहादुर बिश्वकर्माले सामुहिक हत्या गरिएका मृतक युवाहरुलाई सांस्कृतिक शहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिलाउनु पर्ने र पीडकलाई कडा कारवाही गर्नुपर्ने बताए । उनले घटनाको सत्य तथ्य छानबिन तथा दोषीलाई कारवाही नभए संर्घषका थप आन्दोलन गरिने चेतावनी दिए ।
बिहिबार मकवानपुरका दलित अधिकारकर्मीहरुले घटनाको ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल मार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए ।
अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर भएको घटनामा जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विकसहित ६ जनालाई चौराझारी नगरपालीका वडा ८ का वडा अध्यक्ष डम्मर मल्ल सहित गाउँलेहरुले घरेलु हातहतियार प्रयोग गरेर सामुहिक हत्या गरी भेरी नदिमा फलिदिएका थिए । जसमध्ये ५ जनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता छन् ।