राहुल गुप्ता/बाराः नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सामाजिक सुरक्षा भत्ता रोकप्रति आपत्ति जनाएकी छन् । एकल महिला, अशक्त, अपांगता भएका व्यक्तिलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता लकडाउनको समयमा रोकिनु असान्दर्भिक भन्दै उनले आपत्ति प्रकट गरेकी हुन्।

रोजगार गुमाएका मजदुर, न्यून आय भएका जनसमुदाय, एकल महिला तथा अपांगता भएका व्यक्तिहरुलाई न्यूनतम आर्थिक सहायता दिनुपर्नेमा सरकारले गलत निर्णय लिएको उनको ठहर छ । ‘सरकारको यो कदमको हामी निन्दा गर्दछौँ’, उनले बुधबार एक विज्ञप्ति जारी गदै भनेकी छन्, ‘सिंगो मुलुक झन्डै दुई महिनादेखि लकडाउनमा भएको बेला सरकारले ६० वर्ष मुनिका एकल महिला तथा अति अशक्त अपांगता भएका व्यक्तिलाई दिँदै आएको भत्ता रोकेको समाचार सुनेर म स्तब्ध भएकी छु।’

सामाजिक सुरक्षा ऐन २०७५ को हवाल दिँदै गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आर्थिक वर्ष २०६५/६६ देखि दिईंदै आएको उक्त भत्ता रोक्न दिएको थियो। उनले सरकारलाई उक्त कदम फिर्ता गर्न र सामाजिक सुरक्षा नियमावलीमा नियतवस अतिअशक्त अपांगता भएका व्यक्तिलाई छुट्याइएको विषयलाई तत्काल सच्याउन माग पनि गरेकी छन्।