हेटौंडाः मकवानपुरका एक जनासहित मंगलबार देशका विभिन्न क्षेत्रका गरी थप २७ जनामा कोरोना भाइरस संक्रमण देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज २७ जना थपिएपछि संक्रमितको संख्या ४०२ पुगेको हो ।
आज कोरोना संक्रमण पुष्टी भएको एक जना मकवानपुरका रहेको मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएपनि संक्रमितबारे थप विवरण आएको छैन । ‘संक्रमण पुष्टि भएको नमूना मकवानपुरबाट पठाइएको होइन’, जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले भने, ‘यहाँबाट पठाइएको थियो भने हामीलाई जानकारी हुन्थ्यो, यहाँबाट पठाइएको नभएको हुनाले हामीले पनि बुझ्न बाँकी छ ।’
आज मंगलबार थपिएका संक्रमित मध्ये उपत्यकाका पाँच जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरका एकएक जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मकवानपुर, रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ । थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् ।