नेपालमा आज एकैदिन १० जनामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रहेको पुष्टि भएको छ । आज आईतबार भएको परीक्षणमा नेपालगञ्जका ९ जना र पर्साका ३६ वर्षीय पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ६९ पुगेको छ । नेपालगञ्जमा आज कोरोना पुष्टि भएका पाँच पुरुष र चार महिलाको उमेर सातदेखि ५८ वर्ष रहेको पनि मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

कोरोना पुष्टि भएका १० जनालाई नेपालगञ्जको कोरोना अस्पताल लैजाने तयारी गरिएको छ । अहिले विराटनगरमा ३१ जना, वीरगञ्जमा ९ जना तथा रुपन्देही, भरतपुर, नेपालगञ्ज र धनगढीमा एक एक जना गरी ४४ जनाको उपचार भइरहेको छ ।

हालसम्म १६ जना उपचारपछि निको भई घर फर्किएका पनि मन्त्रालयले जनाएको छ ।