हेटौंडाः लामो संघर्षपछि नेपाली महिलाहरु संवैधानिक रुपमा अधिकारसम्पन्न भएपनि व्यवहारिक रुपमा भने जनप्रतिनिधि नै पीडामा रहेको स्वयम् जनप्रतिनिधिहरु नै बताउँछन् ।

संख्यात्मक रुपमा प्रदेशसभामा महिला सांसदहरुको कमी छैन । तर, मन्त्री बन्ने लिस्टमा भने महिलाहरुको नाम कहिल्यै अगाडी नआउने भन्दै पार्टीहरुमा पितृसत्तात्मक सोचको विषयमा प्रदेश सभा सदस्य मुनु सिग्देलले तीतो यथार्थ प्रस्तुत गरिन् ।

आज हेटौंडामा आयोजित लैंगिक समानता महिला बालबालिका र युवाहरुको सशक्तिकरण विषयक सरोकारवालाहरुसँगको कार्यशालामा बोल्दै उनले अन्य जनप्रतिनिधि सँगै संघीय सांसदका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले भोग्नुपरेको पीडाका विषयमा समेत भनाई व्यक्त गरिन् । कार्यक्रममा प्यानलिस्टको रुपमा रहेकी सांसद सिग्देलले देशमा राजतन्त्र फालिएपनि कयौं कुरितीसँगै पितृसत्ताको अन्त्य हुन नसकेकोमा दुख व्यक्त गर्दै अब राजनीतिक रुपमै यस्ता विषयले स्थान पाउनुपर्ने धारणा राखिन् । आफू आबद्ध पार्टीमा आफै जिल्ला अध्यक्षमा रहेको अवस्थामा सामाजिक विभेद अन्त्यका लागि अभियानहरु सँगै अगाडि बढाउन आफूले पार्टीमा कुरा राखेको उनले बताइन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामा र गैर सरकारी संस्था महासंघका बागमती प्रदेश अध्यक्ष बुद्धशरण लामाले प्यानलिस्टको भूमिकामा रहेर आफ्नो क्षेत्रबाट भएका प्रयासबारे जानकारी गराएका थिए । कार्यक्रमका सहभागीहरुले सम्बन्धित तह÷निकायसँग सम्बन्धित जिज्ञासा राखे ।

मानव अधिकार संरक्षण तथा मानव बेचविखन बिरुद्धको सञ्जालको समन्वय तथा ग्रिन फाउण्डेशनको सहयोगमा अस्मिता नेपालले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सञ्जालकी उपसंयोजक माया लामाले स्वागत मन्तव्य व्यक्त गरिन् । कार्यक्रममा जिल्लास्थित विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।