हेटौंडा,२० मंसीरः “समानताको पुस्ताः बलात्कार बिरुद्धको ऐक्यबद्धता” भन्ने मुल नाराका साथ लैंगिक हिंसा बिरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियानको सन्दर्भमा मनहरी बजारमा सञ्चालित सेफ्टी बुँथमा सन्देशमूलक गीति नाटक मञ्चन भएको छ ।

एक्सन एड नेपालसँगको साझेदारीमा मकवानपुर महिला समूहले मनहरी गाउँपालिका–७, मनहरी बजारमा सञ्चालन गरेको सेफ्टी बुँथमा लैंगिक हिंसा बिरुद्ध सन्देशमूलक नाटक मञ्चन भएको हो । लैंगिक हिंसा बिरुद्ध जानकारीमूलक सन्देशहरु प्रवाह गर्ने उद्देश्यका साथ बुँथ सञ्चालित सेफ्टी बुँथमा हेटौंडा–लामसुरेमा रहेको मिरमिरे किशोरी समूहको टिमले नाटक मञ्चन गरेको थियो । नाटकमार्फत लैंगिक हिंसाको विभिन्न रुपलाई उजागर गर्दै सचेतनामूलक सन्देश दिने प्रयास गरिएको मकवानपुर महिला समूहकी कार्यक्रम संयोजक निशा लामाले बताइन् ।

हिजोबाट सुरु भएको सेफ्टी बुँथ पर्चा, पम्प्लेट, ब्रोसर वितरण, सन्देशमूलक गीत तथा नाटक मञ्चन सहित आज समापन भएको हो । नाटक मञ्चनपछि मन्तव्य दिँदै ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी सहायक निरीक्षक रविन अधिकारीले लैंगिक हिंसाले समग्र हिंसालाई समेट्ने भएपनि समाजमा विशेष गरी महिलामाथि हिंसा हुने गरेको भन्दै नाटकले त्यही विषय समेटेको धारणा राखे । कार्यक्रमलाई स्थानीयहरुले चासोका साथ हेरेको मनहरीस्थित मकवानपुर महिला समूहकी सामाजिक परिचालक रोशनी ढकालले बताइन् ।

मनहरी गाउँपालिकाको समन्वय तथा ईलाका प्रहरी कार्यालय मनहरी र माइती नेपालसँगको सहकार्यमा सञ्चालिन कार्यक्रममा माइती नेपालका फिल्ड सुपरभाइजर मन लामा, मकवानपुर महिला समूहका सामाजिक परिचालकहरु विष्णुमाया तितुङ, कल्पना पाख्रिन, मनिशा पुडासैनी लगायत सहभागी थिए ।