सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री रहने निर्णय गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ ।

आज बुधबार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको हो । बैठकको निर्णय अनुसार यो संसद रहँदासम्म ओली नै प्रधानमन्त्री हुनेछन् । प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

प्रवक्ता श्रेष्ठले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने जानकारी दिए । साथै बैठक संयुक्त अध्यक्षतामा सञ्चालित हुने सचिवालय बैठकको निर्णयबारे पनि प्रवक्ता श्रेष्ठले स्पष्ट पारे ।