हेटौंडा,२७ कात्तिकः रौतहट, सर्लाही तथा बारा जिल्लालाई जोडी यातायात सहज बनाउन रौतहट र सर्लाही जिल्लामा पक्की पुल तथा सडक निर्माण सम्बन्धी एक दर्जन योजनाहरु सम्पन्न भएको सडक डिभिजन कार्यालय रौतहटले जनाएको छ ।
कार्यालयका प्रमुख दारोगा प्रसादका अनुसार ८५ करोड रुपैयाँको लागतमा रौतहट र सर्लाहीमा आर्थिक वर्ष २०७५/७६ मा पुल तथा पक्की सडक निर्माण भएको हो । साथै कतिपय योजनाका कामहरु पूरा गर्ने प्रक्रिया अगाडि बढेको छ ।
कार्यालयबाट प्राप्त विवरण अनुसार रौतहट, सर्लाही तथा बारा जिल्लालाई जोड्ने सडक तथा पुल समेत निर्माण गर्नुका साथै स्थानीय स्तरमा बाटोको ग्र्याभेलिङ्ग गर्ने, माटो पुर्ने, सडक पेन्टीङ्ग, पक्की नाला निर्माण कालोपत्रेको कार्य सम्पन्न भएको छ । उक्त निर्माणको कारणले एक जिल्लाबाट अर्को जिल्लामा जान सजिलो भएको बलरा नगरपालिका–४, सर्लाहीका वडा अध्यक्ष केशव झा ले बताए ।
कार्यालयका अनुसार सर्लाही, रौतहट र बाराका बरथवा, बलरा कठहरिया, गौर, बङ्गकुल, निजगढ, पतौरा, पिपरा, समनपुर, सन्तपुर, नुनथर, कलैया, मौलापुर, जयनगर, चन्द्रपुर रिङ्गरोड, कटहरिया देखि झाझपुल, निजगढ, पतौरा बनकुल सडक, सखुआाबा, मटिअर्वा सडक, विरनगरा, गरुवा सडक, फतुवा हर्खाहा सडक, सन्तपुर कलैया सडक, खैरहा सितल पुल, पतौरा बङ्कल सडक लगायत ५ दर्जन भन्दाबढी विभिन्न स्थानमा सडक निर्माण सो अवधिमा गरिएको छ ।
कार्यसम्पन्न भएका कामहरुको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालय, नगरपालिका र गाउँपालिका पठाइएको कार्यालय प्रमुख दरोगा प्रसादले बताए । उक्त निर्माण सम्पन्न कार्यहरुको अनुगमन समेत गरिएको छ ।