हेटौंडा,१७ कात्तिकः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक व्यवसायी संस्थाको ज्ञापनपत्र बुझ्न नमानेपछि विवाद भएको छ ।
नेपाल कपास उद्योग तथा सिरक डसना व्यवसायी महासंघले मुख्यमन्त्रीलाई बुझाउन लागेको ज्ञापनपत्रमा सरकारलाई चेतावनी दिइएको भन्दै यस्तो ज्ञापनपत्र आफुले नबुझ्ने मुख्यमन्त्रीले बताएका थिए । ज्ञापन पत्रमा ‘प्रचलित औद्योगिक व्यवसाय ऐन प्रतिकुल हुने खालका विधेयक ल्याए सम्पूर्ण उद्योगी व्यवसायीहरुको व्यवसायिक हितको लागि सबै उद्योगधन्दा बन्द गरी आन्दोलनमा उत्रने’ चेतावनी दिईएको थियो ।
महासंघका अध्यक्ष चन्दना कोइराला ज्ञापनपत्र वाचन गरेपछि चेतावनी शब्दप्रति मुख्यमन्त्री पौडेलले आक्रोश पोख्दै सरकारलाई चेतावनी दिएको ज्ञापनपत्र नबुझ्ने भन्दै सभाहलबाट कार्यकक्षमा पुगेका थिए । त्यसपछि महासंघको टोलीबीच विवाद भएको हो ।
महासंघका महासचिव घनश्याम पौडेलसहित केही व्यवसायीले लोकतन्त्रमा आन्दोलनको चेतावनी दिनु सामान्य भएको भन्दै मुख्यमन्त्रीको कार्यशैलीको विरोध गरे । उनीहरुले विना दर्ता र प्रयोजन विपरित गलत काम गर्नेहरुकै पक्षमा मूख्यमन्त्रीले साथ दिएको भन्दै आपत्ति समेत जनाए । उनीहरुले आफु सच्याएर ज्ञापनपत्र बुझाउने पक्षमा रहेको भन्दै सभाहलमै बसे ।
अध्यक्ष चन्दना कोइरालासहित केही व्यवसायीले भाषा सच्याएर पुनः मुख्यमन्त्री पौडेललाई कार्यकक्षमै पुगेर ज्ञापनपत्र बुझाएका थिए । मुख्यमन्त्री पौडेलले यसरी घरघर गएर कपडा पेलेर कपास बनाउने ट्र्याक्टरले फोहर व्यवस्थापनमा सहयोग गरेको भन्दै सकारात्मक रुपमा लिनुपर्ने बताएका थिए । प्रष्टखबरबाट