हेटौंडा,१७ कात्तिकः शिक्षाको उज्यालो घामबाट वञ्चित हुने अवस्थामा रहेका बालबालिकाको शैक्षिक भविष्य सुनिश्चित गर्नका लागि शिक्षामा सहयोग गर्दै आएको नारी संरक्षण केन्द्र मकवानपुरले स्टेशनरी सामग्री वितरण गरेको छ । आज हेटौंडामा आयोजित एक कार्यक्रमबीच केन्द्रले ६० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।

कार्यक्रममा मन्तव्य राख्दै हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले जिल्लाका विभिन्न क्षेत्रमा कतिपय बालबालिकाहरु अत्यन्त दयनीय अवस्था रहेको र सरकारले चाहेर पनि संरक्षण गर्न नसकेको बताइन् । संस्थाले गरिरहेको क्रियाकलापको कदर गर्दै उनले बालबालिकालाई असल मान्छे बन्न प्रेरणादायी मन्तव्य व्यक्त गरिन् । बालबालिकाले ‘फस्ट’ हुने प्रतिस्पर्धा र ठूलो मान्छे बन्ने होडबाजीमा लाग्नुभन्दा पनि असल मान्छे बनिदिए अभिभावकको सपना पूरा उनले बताइन् । बालबालिकाले प्राप्त सहयोगलाई अवसरको रुपमा लिएर मेहनतका साथ अघि बढ्नुपर्नेमा उपमेयर लामाको जोड छ । बालबालिकाको लागि उचित वातावरण बनाइदिन कार्यक्रममा सहभागी अभिभावक समक्ष उनले अनुरोध पनि गरिन् ।

संस्थाले जिल्लाका विभिन्न क्षेत्रका विशेष गरी हिंसामा पर्ने सम्भावना भएका, अति विपन्न र शिक्षाको अवसर लिन नसक्ने अवस्थामा रहेका बालबालिकाको शिक्षामा सहयोगका लागि हरेक वर्ष २ पटक शैक्षिक सामग्री सहयोग गर्दै आएको केन्द्रका अध्यक्ष दिपा गुरुङले बताइन् । कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका जिल्लाका विभिन्न क्षेत्रका ६० जना बालबालिकालाई हरेक वर्ष शैक्षिक सत्र सुरु हुने बेला अर्थात् बैशाखमा ब्याग, जुत्ता लगायत स्कूल पोशाक, शैक्षिक सामग्री र ट्युशन शूल्क समेत सहयोग गर्ने गरेको र पुनः दोस्रोपटक स्टेशनरी सामग्री सहयोग गर्ने गरिएको अध्यक्ष गुरुङले जानकारी दिइन् ।

उनका अनुसार केन्द्रले ती ६० जना विद्यार्थीलाई आवश्यकता अनुसार पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको छ, भने २७ जना नारी संरक्षण केन्द्रकै व्यवस्थापनमा सञ्चालित चाइल्ड केयर होममा बस्दै आएका छन् । शिक्षामा सहयोगका लागि राक्सीराङ गाउँपालिका लक्षित कार्यक्रम भएपनि सरकारी निकाय र गैर सरकारी निकायको सुझाव तथा आवश्यकताका आधारमा जिल्लाका विभिन्न क्षेत्रबाट बालबालिका आउने गरेको नारी संरक्षण केन्द्रका कार्यक्रम संयोजक राम मिजारले बताए ।

यसैबीच महिलाहरुको आर्थिक सशक्तिकरणका लागि भन्दै गतसाल सञ्चालन गरिएको सिलाई तालिमपश्चात निरन्तर व्यवसायमा लाग्ने एक महिलालाई सोही अवसरमा इन्टरलक मेसिन हस्तान्तरण गरिएको छ । भीमफेदी गाउँपालिकाकी श्रीकुमारी प्रजालाई उक्त मेसिन प्रोत्साहन स्वरुप हस्तान्तरण गरिएको हो । २० जनालाई सिलाई तालिम दिइएकोमा सिलाईलाई नै पेशा बनाउने उनको व्यवसायमा सहयोगका लागि मेसिन प्रदान गरिएको कार्यक्रम संयोजक मिजारले बताएका छन् ।

नारी संरक्षण केन्द्रका अध्यक्ष दिपा गुरुङको सभाध्यक्षतामा शैक्षिक सामग्री वितरण कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाको प्रमुख आतिथ्यता रहेको थियो । २०५८ सालमा स्थापना भएको केन्द्र मकवानपुर जिल्लामा महिला र बालबालिकाको क्षेत्रमा क्रियाशील रहँदै आएको छ ।