उम्मेदवारी घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा खनाल लगायत अन्य सहभागी

हेटौंडाः नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा चितवनका युवा अरुणेश्वर खनालले उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाल जेसिजको सचिवालयमा उनले सन् २०२० को अध्यक्षका लागि उम्मेदवारी दर्ता गरिसकेको पत्रकार सम्मेलनको आयोजना गरी जनाएका हुन् ।

भरतपुरमा बीसहजार जेसिजले आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले आफ्नो उमेदवारीबारे जानकारी गराएका हुन् । आगामी पुस ९ गतेबाट रत्ननगर जेसिजको आतिथ्यतामा पूर्वी चितवनमा राष्ट्रिय महाधिवेशन हुँदैछ । यसअघि नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्ष, राष्ट्रिय महासचिव, राष्ट्रिय उपाध्यक्ष भएर काम गरिसकेका खनाल चितवनको बीसहजार जेसिजको पूर्व अध्यक्षसमेत हुन् । अंग्रेजीमा स्नातकोत्तर खनाल बीसहजार जेसिजको वर्ष २०१० का अध्यक्ष हुन् ।

यसअघि चितवनबाट दिनेश कोइराला र महेश दाहाल जेसिजको राष्ट्रिय अध्यक्ष भइसकेका छन् । देशभर जेसिजका एक सय ४९ शाखा छन् । हरेक शाखाबाट ११ जना प्रतिनिधि महाधिवेशनमा सहभागी भएर मतदान गर्न पाउने व्यवस्था छ । यसबाहेक सदस्य संख्याका आधारमा अध्यक्षले प्राप्त गर्ने अतिरिक्त मताधिकार (स्ट्रेन्थ भोट) एक सय ९० गरी महाधिवेशनमा कूल १८ सय २८ मतदाता रहने छन् ।