Photo: Google

हेटौंडाः नेपाली सेनाले राष्ट्रिय गौरवको परियोजना ‘काठमाडौं–तराई/मधेस द्रुतमार्ग’ (फास्टट्र्याक) निर्माण कार्य निर्धारित समयभन्दा अगाडि नै सम्पन्न गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ । सरकारको नीति तथा कार्यक्रमले पाँच वर्ष तोके पनि अबको तीन वर्ष छ महिनामा द्रुतमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको सेनाले पत्रकार सम्मेलन गरी स्पष्ट गरेको हो ।

हालै स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा पनि आगामी २०८१ सालसम्म द्रुतमार्ग निर्माण हुने लक्ष्य राखिएको छ । नेपाली सेनाका द्रुतमार्ग परियोजना प्रमुख प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले सरकारले दिएको समयावधि र डीपीआरमा उल्लेख मितिभन्दा अगाडि नै सम्पन्न हुने गरी द्रुत गतिमा निर्माण भइरहेको दाबी गरेका छन् ।

परियोजनाको डीपीआर मन्त्रिपरिषद्बाट स्वीकृत भएको एक सातापछि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले ‘काठमाडौं–तराई/मधेस द्रुतमार्ग’ प्रगति विवरण सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको हो ।

आयोजना प्रमुख श्रेष्ठले भनेका छन्, “खोकना क्षेत्रका धार्मिक तथा पुरातात्विक सम्पदाहरू, श्रीकाली मन्दिर जोगाउन सडक निर्माणमा नयाँ रेखाङ्कन गरिएको छ । केही स्थानमा मुआब्जा समस्या रहेकाले जिल्ला प्रशासन कार्यालयबाट समाधान गर्ने प्रयास भइरहेको छ । ”

द्रुतमार्ग ललितपुरको खोकना प्रस्थान बिन्दुबाट मकवानपुर हुँदै बाराको निजगढसम्म चार लेनमा ७२.५ किलोमिटर लम्बाइको हुने छ । यो काठमाडौं–तराई जोड्ने सबैभन्दा छोटो सडकमार्ग हो ।