हेटौडा,२ साउन । नेपाल सरकारबाट २०७६ श्रावण १ गतेदेखि लागू गरेको वेभमा आधारित Vehicle and Consignment Tracking System (VCTS) मा अभिलेख गराई कारोबार गर्नुपर्ने व्यवस्था साना व्यवसायीहरुको लागि असम्भवनै देखिएकोले भन्दै हेटौडाका केही व्यवसायीहरुले समय दिन माग गरेका छन् । अहिले तत्काल भन्सार र ठूला व्यवसायिक प्रतिष्ठानहरुमा मात्र यो नीति कार्यान्वयन गर्ने गरी अघि बढाउन समेत माग गरेका छन् ।

उद्योग÷व्यवसायसंग सम्बन्धित यो नीति कार्यान्वयनको सन्दर्भमा व्यवहारिक कठिनाईहरु देखिएकोले आवश्यक पुनर्विचार तथा सहजिकरण गर्न र यसको तयारीको लागि केही समय व्यवसायीहरुले माग गरेका छन् । देशको भौगोलिक अवस्था, सडक सञ्जाल, आर्थिक स्तर, जनशक्ति, प्रविधिमा पहुचलगायत विभिन्न कारणले उक्त नीतिहरु कार्यान्वयनमा असहजता देखिएको छलफल कार्यक्रममा सहभागी अतिथिहरुले बताएका थिए ।
आज न्युज क्लव हेटौठाले व्यसायिक संघ संगठनका नेतृत्वहरुसँग गरेको छलफलमा उनीहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने,संघका जिल्ला अध्यक्ष कृष्ण कटुवाल लगायत नेपाल वितरक संघ चक्रधर विडारी,मदिरा व्यवसायी संघका सर्विन्द्र पौडेल,खाद्ययव्यवसायी सघंका विजयसागर श्रेष्ठ लगायतकाले आ–आफ्नो धारणा राखेका थिए । त्यस्तै कपडा व्यवसायी तेज अधिकारीले भने व्यवायीहरु बीच बीचमा ठगिने र असुरक्षा महशुस गर्न नपर्ने नीति आएकोमा आफूलाई खुसी लागेको बताउनुभयो ।