अयोध्यापुरीमा निर्माण गरिएको अस्थायी मन्दिरमा राम–सिताको मूर्ति राखिँदै ।

चितवनः चितवनको माडीस्थित अयोध्यापुरीमा राम–सीताको मूर्ति प्रतिस्थापन गरिएको छ । रामनवमीको अवसर पारेर बुधबार माडीको अयोध्यापुरीमा मूर्ति प्रतिस्थापन गरिएको हो ।

माडी नगरपालिका–९, स्थित अयोध्यापुरीमा अस्थायी मन्दिर निर्माण गरेर मूर्ति राखिएको छ । राम–सीता र लक्ष्मणको मूर्ति मन्दिरमा राखिएको छ, भने हनुमानको मूर्ति मन्दिर बाहिर राखिएको छ ।
पञ्चेबाजा, ब्याण्डबाजा, भजनकिर्तन सहित मूर्तिको शोभायात्रालाई स्वागत गरिएको थियो । फूलले सजाइएका अलग–अलग ट्रकमा मूर्तिलाई राखिएको थियो । सवारीको लस्कर सहित ‘सिताराम रथ यात्रा’ चितवन पुगेको हो । बाजागाजा सहित बुधवार मूर्ति सहितको रथयात्रा माडी पुगेको थियो । मुर्ति स्थापनाको बेला मानिसहरुको भीड लागेको थियो ।

मूर्ति प्रतिस्थापनको लागि पर्यटन तथा संस्कृति मन्त्री भानुभक्त ढकाल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल लगायत माडी पुगेका थिए । कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अयोध्याधामको विकासका लागि प्रदेश सरकारले लगानी गर्ने बताए ।

गत असार २९ का दिन भानु जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको अभिव्यक्ति दिएपछि माडीको चर्चा चुलिएको थियो । कार्यक्रममा रामको जन्म नेपालमै भएको दावी गरिएको थियो । प्रधानमन्त्री ओलीको निर्देशनमा मन्दिर निर्माण थालिएको हो । मन्दिर स्थापनापछि माडीको विकास हुनेमा स्थानीय आशावादी छन् । माडी नगर क्षेत्रका विभिन्न स्थानमा स्थानीय समुदायले अआफ्नो घर अगाडि घडा राखेर ताली बजाएर स्वागत गरेका थिए ।