धनुषा । जनकपुरमा आन्दोलनरत शिक्षकहरुमाथि प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेको छ । बुधबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि शिक्षकहरुले चक्काजाम गरेपछि प्रहरीसँग झडपसमेत भएको छ ।

प्हररीले शिक्षकहरुमाथि लाठीचार्ज साथै धडपकडसमेत गरेको छ । त्यस क्रममा शशिकला भट्टराई, जुरनी मण्डल, रेखा कापड, किरण यादव, मुकेश तिवारी, आनन्द चौरसिया, सलिम अन्सारीलगायतका शिक्षक शिक्षिकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धमेन्द्रकुमार यादवले मुख्यमन्त्री लालाबाबु राउतको निर्देशनमा आफूहरुमाथि लाठीचार्ज र धरपकड भएको आरोप लगाउनुभयो ।

अस्थायी शिक्षकहरुलाई पूर्ववत रुपमा उमेरको हदसम्म पेशाको ग्यारेन्टी र औषधि उपचारको व्यवस्थाको माग गर्दै उनीहरु गएको असार १९ गतेदेखि विभिन्न मागसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि धर्ना बस्दै आएका छन् ।