हेटौंडाः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबाले मुलुकमा अधिनायकवाद मौलाएको बताएका छन् ।
नेपाल साँस्कृतिक संघ जिल्ला सभापति एवम् विधागत संघका पदाधिकारीहरुको राष्ट्रिय प्रशिक्षण भेलालाई सम्वोधन गर्न हेटौंडा आएका सभापति देउवाले सरकार अधिकायकवादतर्फ उन्मुख भएको बताएका हुन् । सरकारले गरेका केही क्रियाकलापको उदाहरण दिँदै उनले त्यसलाई अधिनायकवादको संज्ञा दिए ।
पशुपति शर्माको गीतमाथिको प्रतिबन्धदेखि प्रेस स्वतन्त्रता विरोधी कदम, गुठीसम्बन्धि विधेयक, निर्मला हत्याकाण्ड लगायतमाथि उनले चर्चा गरे । लुट्न सके लुट गीतको प्रसंगमा उनले “लुटेकै हुनाले सरकारका मान्छेहरु लुट शब्दसँग डराएका हुन्”, भने । देशमा अहिले जति भ्रष्टाचार कहिल्यै नभएको उनले जिकिर गरे । “भ्रष्टाचार बढेको कुरा ट्रान्स्पोरेन्सी इन्टरनेशनलले पनि भनेको कुरा हो”, उनले भने । लेख्ने, बोल्ने स्वतन्त्रता प्रजातन्त्रको नभइ नहुने कुरा भन्दै सभापति देउवाले सरकार वाक तथा अभिव्यक्ति स्वतन्त्रता पनि खोस्ने योजनामा लागेको बताए ।
गुठी सम्बन्धी विधेयकको प्रसंगमा उनले यसलाई संस्कार, संस्कृतिमाथिको आक्रमण भने । सो विधेयक अहिले कुनै पनि हालतमा पारित गर्न नदिने देउवाले बताएका छन् । सरकार धार्मिक तथा साँस्कृतिक गुठीलाई सिध्याउने खेलमा लागेका भन्दै त्यसतर्फ सबैले ध्यान दिन जरुरी रहेको बताए । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले निर्मलाका हत्यारालाई लुकाईनु, गीत संगीत तथा प्रेस स्वतन्त्रता बिरुद्ध हर्कत हुनु, संस्कृतिमाथि आक्रमण, भ्रष्ट्राचार, महङ्गी लगायतका कारण सरकारले नागरिकको अपेक्षामा धोका दिएको बताए ।
संघका सभापति तीर्थबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय महामन्त्री डा. शसांक कोइराला, सहमहामन्त्री डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, प्रदीप पौडेल, गुरुराज घिमिरे, देवेन्द्रराज कंडेल, वरिष्ठ नेता गोपालमान श्रेष्ठ, राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझी, प्रदेश ३ का प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँ, तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत, वरिष्ठ कलाकार नीर शाह, कलाकार संघका नवनिर्वाचित अध्यक्ष रवीन्द्र खड्का, लगायतकाले सम्बोधन गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस, मकवानपुरका जिल्ला नेता भीमसेन महतद्वारा लिखित “नेपाली काग्रेसको संक्षिप्त्त परिचय”को बिमोचन गरिएको थियो । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले प्रशिक्षण दिने सो राष्ट्रिय प्रशिक्षण भेलामा ७७ वटै जिल्लाका सांस्कृतिक संघका सभापति तथा विधागत सभापतिहरुको सहभागिता रहेको छ ।