फाईल तस्वीर

हेटौंडा,२१ वैशाखः आज मातातीर्थ औँसी । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मातातीर्थ औँसी मनाइँदैछ ।
प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व पौराणिक कालदेखि मनाइँदै आइएको पाइन्छ ।

औँसीका अवसरमा बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद लिने प्रचलन रहीआएको छ । आमा नभएकाहरुले भने आजको दिनमा आमाको श्राद्ध गर्दै सम्झिने गर्छन् ।
दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँसीमा काठमाडौंको मातातीर्थमा ठूलो मेला लाग्ने गर्दछ । मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ ।

आजकै दिन भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ ।

घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुग्ने तथा जान नपाएकाहरुले टेलिफोन गरेरै भए पनि आमालाई सम्झने गर्दछन् । कतिपयले सामाजिक सन्जालमा आमाको तस्वीर शेयर गरेर आमाप्रति सम्मान भाव प्रकट गरिरहेका छन् ।