बैशाख ९
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७७ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लामा पार्टी नेतृत्वको टुंगो लगाएको हो । बैठकले केही दिनमै केन्द्रीय समिति सदस्यहरुको कार्यविभाजनको टुंगो लगाउने समेत निर्णय गरेको छ । पोलिटव्यूरो संरचना भने अर्को बैठकबाट गठन गर्ने तयारी गरिएको जनाइएको छ ।

जसमा केन्द्रीय सदस्यको एकतिहाई रहनेछ । बैठकले गरेका निर्णयहरु सोमबार सार्वजनिक गरिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टी एकतालाई अन्तिम रुप दिन आइतबार साँझ सचिवालय बैठक बोलाइएको थियो । बैठकमा अध्यक्षद्वय केपी ओलीसँगै पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसहित सचिवालयका नेताहरु उपस्थित थिए । बैठकअघि बसेको शीर्ष नेताहरुको छलफलमा सोमबार नै एकता टुङ्ग्याउने गरी आइतबार दिनभर गृहकार्य गर्ने र बेलुका सचिवालय बैठक बोलाएर एकता प्रस्तावलाई अनुमोदन गर्न सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।