हेटौंडा,४ बैशाखः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकतालाई यही बैशाख ९ गतेसम्ममा पूर्णता दिने चन्द्रागिरी बसाईको निश्कर्ष रहेको गृहमन्त्री रामबहादुर थापा (बादल)ले खुलासा गरेका छन् ।
आज हेटौंडास्थित एक होटलमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भएका उनले कार्यक्रमका सहभागीहरुलाई सम्बोधन गर्दै यही ९ गतेभित्र पार्टी एकतालाई पूर्णता दिनु नै चन्द्रागिरी बसाईको निश्कर्ष रहेको बताएका हुन् । साथै, उनले त्यसका एकताका लागि धेरैजसो कुरा टुंगिएको पनि जानकारी गराएका छन् । पार्टी एकताको घोषणा भएको एक वर्ष पुग्नै लाग्दा पनि एकता प्रक्रियाले पूर्णता नपाउँदा जनतामा निराशा छाएको र एकता प्रक्रिया नटुंगिएकोमा नेतृत्व चिन्तित रहेको सन्दर्भमा कार्यदलका जिम्मेवार व्यक्तिहरुको चन्द्रागिरी बसाईले निश्कर्षको आधार तय गरेको गृहमन्त्री बादलले बताए ।

वर्तमान राजनीतिक परिस्थितिबारे कार्यकर्तालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले दुई तिहाईको बहुमत प्राप्त सरकारले समाजवाद निर्माणको नीम्ति आधार तयार पार्ने बताए । कम्युनिष्ट पार्टीको अबको आन्दोलन समाजवाद हुँदै साम्यवादमा पुग्नु रहेको स्पष्ट पार्दै गृहमन्त्री बादलले सो लक्ष्य प्राप्तिका लागि बलियो पार्टी र शक्तिशाली नेतृत्वको आवश्यकता औंल्याए ।

समाजवाद हुँदै साम्यवाद प्रवेशका लागि राष्ट्रिय पूँजीको विकास जरुरी रहेको भन्दै उनले वर्तमान सरकार समाजवादको वस्तुगत तथा आत्मगत आधार तयार पार्नतर्फ केन्द्रित भएको स्पष्ट पारे । राष्ट्रिय पूँजीको बिरुद्धमा हुनेहरुलाई कम्युनिष्ट पार्टीको शत्रुका रुपमा इंगित गर्दै गृहमन्त्री बादलले त्यस्ता शक्तिलाई परास्त गरी मुलुकको समृद्धिमा लाग्न र सरकारको कदममा साथ दिन कार्यकर्तालाई आग्रह गरे ।

सांसदले अब जनताको राय संकलन गरी विकास योजनामा जनताको भावना समेट्ने पनि उनले बताए । विरोधीहरु पार्टी एकता हुन नदिने, सरकार विघटन गराउने र राज्य व्यवस्था उल्टाउने रणनीतिमा लागेको भन्दै गृहमन्त्री बादलले सरकारका कमी कमजोरीलाई सुधार र सुदृढ गरी संविधान तथा राज्यव्यवस्थाको रक्षा गर्दै समाजवादी व्यवस्थातिर लाग्न सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा नेकपाका नेताहरु शालिकराम जमकट्टेल, सूर्य सुवेदी, केदार न्यौपाने, दावा दोर्जे लामा, कुमारी मोक्तान, मुनु सिग्देल, प्रेमबहादुर पुलामी लगायत सहभागी थिए ।