काठमाडौ,२७ चैत्र । आन्दोलनरत डाक्टरहरुले काठमाडौँको वीर अस्पतालबाहिरै ओपीडी सेवा सञ्चालन गरेका छन् । सर्वसाधारणलाई उपचारमा समस्या नहोस् भनेर अस्पताल परिसरमा ओपीडी सेवा सञ्चालन गरेको आन्दोलनरत सरकारी चिकित्सक संघका अध्यक्ष डा.दिपेन्द्र पाण्डेले बताए ।

‘अस्पताल आउने सबैलाई उपचार सेवा दिन्छौँ, तर भित्र जादैनौँ, अस्पतालबाहिरैबाट’ अध्यक्ष पाण्डेले जानाकारी दिए । चिकित्सकहरुले बाहिरै ओपीडी सञ्चालन गरेपछि विरामीहरुले लाइन लागेर पालोमा चेकजाँच गराएका थिए । अस्पतालका टेवल, कुर्सी र उपकरणहरु अस्पतालबाहिर ल्याएर विरामी चेकजाँच गरेका उनीहरुले अस्पतालको रसिद, टिकट प्रयोग नगरी चिकित्सक संघकै लेटरप्याड र छाप प्रयोग गरेका छन् ।

यसअघि वीर अस्पताल प्रशासनले प्रहरी लगाएर ओपीडी विभागको टिकट काटेको थियो । चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेको छैठौ दिन बुधबार बिहानबाट प्रशासनले प्रहरीको सहयोगमा ओपीडीको टिकट खुलाएको हो ।