काठमाडौंः एचआइभी/एड्स संक्रमित ५६ वर्षीय गोपाल श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने घोषणा गरेका छन् । पूर्व राष्ट्रिय फुटबल खेलाडी श्रेष्ठले आगामी शुक्रबार आफू सगरमाथातिर प्रस्थान गर्ने जानकारी दिएका हुन् ।

एचआईभी/एड्स संक्रमितहरुले पनि राष्ट्र र समाजका लागि योगदान गर्न सक्षम छन् भन्ने सन्देश विश्वलाई दिने उद्देश्यका साथ आफूले सगरमाथा आरोहण गर्न थालेको श्रेष्ठले बताएका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले अवसर पाए एचआइभी/एड्स संक्रमितहरुले पनि केही गरेर देखाउन सक्ने उनले बताए । श्रेष्ठ सन् २०१५ मा सगरमाथा आरोहण अभियान सुरु गरे पनि सफल भएका थिएनन् ।

श्रेष्ठले साहस गरेकाले उनलाई सगरमाथा आरोहणको लागि साथ दिइएको आरोहण अभियानका संयोजक विष्णुबहादुर भट्टराईले जानकारी दिए । आरोहणका लागि ४३ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको र त्यसका लागि ३० लाख रुपैयाँ संकलन भइसकेको छ ।

आरोहण अभियानले एचआइभी/एड्स संक्रमित श्रेष्ठलाई सगरमाथा आरोहणका लागि सहयोग गर्न पनि सबैलाई आह्वान गरेको छ ।
स्वास्थ्य खबरपत्रिकाबाट