काठमाडौं,७ चैत्र । काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा राष्ट्रिय झण्डा र देवनागरिक लिपिमा नाम अनिवार्य गर्ने तयारी गरेको छ।
पछिल्लो समय धेरै विद्यालयले अङ्ग्रेजी नाम राखेको पाइएको हुँदा ती सबै विद्यालयले देवनागरिक लिपिमा पनि नाम राख्न अनिवार्य गरिएको जानकारी कामपाले गराएको छ। कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार राष्ट्रियको सम्मानको लागि निजी र सामुदायिक सबै विद्यालयले अनिवार्य रुपमा विद्यालयको प्राङ्गणमा झण्डा राख्नुपर्ने छ।
त्यसैगरी कामपाले आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ। कामपाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले महानगरभित्र रहेका सबै सामुदायिक र निजी विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको जानकारी दिए।
नेपाल भाषा,दिगो विकास,वातावरण शिक्षा,ट्राफिक व्यवस्थापन र काठमाडौँको पुरानो भाषा र संस्कृतिसम्बन्धी विषय समावेश गरिने भएको हो । स्थानीय विषयवस्तु,आवश्यकता र सामग्री उपयोग हुनेगरी स्थानीय पाठ्यक्रम पढाउनुपर्ने भए पनि यसअघि विद्यालयले लागू नगरेकाले कामपाले यस किसिमको व्यवस्था लागू गर्न लागेको प्रमुख कोइरालाले जानकारी दिए।
रासस