हेटौडा । मकवानपुर जिल्लाका कम्युनिष्ट आन्दोलनका अग्रज नेता मोहन बज्राचार्य (गुरुजु) र हिजो हेलिकप्टर दुर्घट्नामा परि निधन हुनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी सहित ६ जनाको दुखद् निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले आज श्रद्धाञ्जली सभा गरेको छ ।

श्रद्धाञ्जली सभामा बोल्दै नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले मकवानपुरका कम्युनिष्ट आन्दोलनको अग्रज नेता मोहन बज्रचार्य र नेकपाको केन्द्रीय सदस्य एवम् जल्दोबल्दो उर्जावान युवा नेता रविन्द्र अधिकारीको शोक तथा श्रद्धाञ्जली सभा एकैकपटक गर्नुपर्ने दिनको कल्पना कसैले नगरेको भन्दै यो अत्यन्त दुखद क्षण भएको बताउनुभयो। राष्ट्र र जनताले आशा गरेको अध्ययनशील,योजनाकार तथा सक्रिय नेता रविन्द्र अधिकारी गुमाउदा दुःख लागेको भन्दै केन्द्रीय सदस्य न्यौपानेले शोकलाई शक्तिमा बदलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

लामो समयदेखि मकवानपुरको वामपन्थी आन्दोलनमा लाग्नुभएका अग्रज नेता मोहन बज्रचार्यको नजिक रहेर काम गर्नुभएका र उहाँबारे नजिकबाट बुझ्नुहुने अग्रज एवम् वरिष्ठ पत्रकार कौशल पाण्डेले मोहन बज्रचार्य मकवानपुरको कम्युनिष्ट आन्दोलन र किसान आन्दोलनको नेतृत्वकारी भूमिका खेलेको नेता भएको बताउनुभयो । अग्रज पाण्डेले वामपन्थीहरुलाई बन्देज लगाएको अवस्थामा पनि माक्र्सवादी अध्ययनकेन्द्र खोलेर काम गर्नुभएका बज्रचार्य निरन्तर श्रममा लागिरहने मेहनती व्यक्तित्व भएको भनाई राख्नुभयो । रविन्द्र अधिकारी जस्तो सश्रम,आँटिलो र इमान्दार नेता राष्ट्रले गुमाउनुपर्दा ठूलो क्षति भएको भन्दै उहाँले यी नेताहरुको जीवनकालमा भएका र गरेका राम्रो कामहरुबाट बाचेकाहरुले पाठ सिक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु रामेश्वर राना,कुमारी मोक्तानको आतिथ्यता रहेको थियो। नेकपा मकवानपुरका नेता प्रेम बहादुर पुलामीको अध्यक्षतामा भएको कार्यक्रम संचालन भने नेकपाका नेता बद्री लम्सालले गर्नुभएको थियो ।

वि.स. १९७९ मा जन्मिनुभएका वामपन्थी नेता मोहन बज्रचार्यको २०७५ फागुन ४ गते ८६ वर्षको उमेरमा निधन भएको थियो । नेता एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको जन्म २०२६ बैशाखमा भएको थियो भने मृत्यु २०७५ फागुन १५ गते भएको हो ।