माघ १३
काठमाडौं– जीप दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी सह–सचिव गणेश भट्टराईलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।
वीरगञ्जस्थित ‘हेल्थ केयर सेन्टर’मा उपचाररत भट्टराईलाई नेपाली सेनाको हेलिकप्टरमा राखेर आइतबार काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय बिरगञ्जका प्रमुख एसपी रेवती ढकालले जानकारी दिए ।
शनिवार साँझ बा १ झ १६३३ नम्बरको स्कार्पियो जिपमा बाराको निजगढबाट कलैया फर्कंदै गरेका प्रमुख जिल्ला अधिकारीको स्कार्पियो निजगढ–पथलैया सडक खण्डको पसाहा खोलामा दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा परेर प्रजिअको जिपमा सवार प्रहरी हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल घाइते भएका छन् ।