मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्र थाहानगरपालिकाको क्षेत्रमा शुक्रवार रातीबाट हिउ पर्न थालेपछि पर्यटकहरुको चहल पहल बढेको छ । त्यस्तै देशको विभिन्न स्थानमा पनि हिउ परेको छ । बागलुङको काठेखोला गाउँपालिका–४ बिहुँ दहपानी र आसपासमा पाँच वर्षपछि आज हिमपात भएको छ।

शुक्रबार दिउँसैदेखि लगातार पानी परेर चिसो बढेसँगै रातको समयमा हिउँ परेको हो। हिउँका कारण बिहुँ र आसपासका ठानडाँडा, शिवालय, घोडा बाँधे, कर्लेम, लेखानीलगायतका गाउँ सेताम्ये देखिएका छन्।

विगत पाँच वर्षअघि यस क्षेत्रमा हिउँ परेको जानकारी दिँदै काठेखोला गाउँपालिका–४ का वडा सदस्य शिवलाल कँडेलले त्यसयता भने पहिलो पटक हिउँ परेको बताए।

हिउँ परेसँगै यस क्षेत्रमा लगाइएका आलु, गहुँ, जौको राम्रो उत्पादन हुने भएका कारण यहाँका कृषक खुशी भएका छन्। गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) केन्द्रको आयोजना एवं भिटोफ गण्डकी प्रदेश पोखराको संयोजनमा आज यहाँस्थित शिवधुरी सामुदायिक घरबासको उद्घाटनका लागि आएका अतिथि बिहानैदेखि हिउँ खेलेर रमाएका छन्।