पहिलो समाचार
हेटौंडा,माघ ९ / प्रदेश ३ सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहने गरी यातायात सेवा कार्यालय विस्तार गरेको छ । हेटौंडा ११ स्थित थानाभर्याङ्गमा सेवा कार्यालयबाट निजी, सरकारी, भाडाका सबै नयाँ सवारी दर्ता, नविकरण गरिने कार्यालयका निमित्त प्रमुख पोषण थापाले बताउनुभएको छ ।

आजबाट शुरु भएको कार्यालयले प्रदेश ३ मुख्यमन्त्री डोरमणी पौडेलले प्रयोग गर्ने चार पाङ्ग्रे सवारीमा पहिलो नम्बर प्रदेश–३–३, ००१–झ ०००१ प्रदान गरी शुरु गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका प्रदेश ३ मुख्यमन्त्री डोरमणी पौडेलले सेवाग्राहीको कुनै पनि गुनासो नआउने गरी कार्यालय सञ्चालन गर्न निर्देशन दिनुभएको छ । हालका लागि कर्मचारी अभावले समस्या रहेको स्वीकार गर्दै मुख्यमन्त्री पौडेलले सो समस्या समाधानका लागि प्रदेश सरकारले चाडैनै निर्णय लिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।