हेटौंडाः आसन्न स्थानीय तह निर्वाचनमा बकैया गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवारी दर्ता गराउनुभएकी लक्ष्मीमाया माझी (कृपा)ले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । अध्यक्षका अर्का उम्मेदवार धर्मराज लामिछानेलाई समर्थन गर्दै अध्यक्षको प्रतिस्पर्धाबाट पछि हट्नुभएको हो ।

फिर्ता लिएपछि प्रतिक्रिया दिँदै कृपाले पार्टी केन्द्रको निर्देशन अुनसार आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभयो । बैशाख १२ गते माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएका उहाँले आज दिउँसो बकैया गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगरे उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृत आनन्दराज पोखरेलले जानकारी दिनुभयो ।

उम्मेदवारी फिर्तापछि बकैयामा गठबन्धनले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । कार्यक्रममा आफूले समकालीन अध्यक्ष पदका प्रत्यासीहरु भन्दा कम्जोर भएर वा हारको मनसिकता बोकेर उम्मेदवारी फिर्ता लिएको होइन भन्दै उहाँले आफ्नो पार्टीको निर्देशन र गठबन्धनको आपसी मर्मलाई आत्मसाथ गरेर उम्मेदवारी फिर्ता लिएकी जानकारी दिनुभयो । यहाँ आयोजित पत्रकार सम्मेलनमा गठबन्धन दल अन्तर्गत बकैयाका शीर्ष नेताहरु, दुई पार्टीका कार्यकर्ताहरु सहभागी थिए ।

राजनीति स्थायित्व, दिगो विकास र एमालेले बकैयामा गर्दै आएको निषेधको राजनीति अन्त्यका लागि गठबन्धनका उम्मेदवारहरुले जित्नैपर्ने उहाँको भनाई थियो । जनजीबिकाको सामान्य समस्या हल गर्न समेत कसैको राजनीति एकाधिकार र गुलामी स्विकार्नु पर्ने अवस्थाको अन्त्य गरि शानदार जीत सुनिश्चित गर्न गठबन्धनलाई सहयोग पुगोस् भनेर आफूले उम्मेदवारी फिर्ता लिएको उहाँले स्पष्ट पार्नुभयो ।

गठबन्धनको सहमति अनुसार अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धर्मराज लामिछानेलाई माओवादीले सघाउँदा उपाध्यक्षमा माओवादीका उम्मेदवार भक्त बहादुर खत्रीलाई कांग्रेसले सघाउनेछ । वडाहरुमा भने स्थानीय सहमतिका आधारमा हुने जनाइएको छ ।