हेटौंडाः बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले कोही पनि माओवादी कार्यकर्ताहरुले आफूलाई माओवादी भन्न लजाउनु नपर्ने बताउनुभएको छ । उक्त पार्टीको दोस्रो बकैया गाउँपालिका सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले यस्तो बताउनुभएको हो ।
‘हाम्रा नेताले केही गलत काम गरेका छैनन्, प्रचण्डले कुनै गल्ती गर्नुभएको छैन’, मन्त्री मोक्तानले भन्नुभयो ‘बरु हाम्रा नेताले नेपाल र नेपालीको शीर उच्च पार्ने काम गरेका छन्, गर्व गर्नुस् ।’ अहिले देशमा विद्यमान व्यवस्था ल्याउन धेरै नेपालीले वलिदान दिएको स्मरण गराउँदै मन्त्री मोक्तानले माओवादी पार्टीले कहिल्यै इतिहास र आफ्ना सहयोद्धाको बलिदानी नभुल्ने दाबी गर्नुभयो । पार्टीले सरकारको नेतृत्व गर्ने अवसर पाएको बेला इतिहास सम्झीएर काम गर्ने उहाँको भनाई थियो । विपक्षीले माओवादीलाई १७ हजारको हत्यारा भनिरहँदा आफ्ना कार्यकर्ताले सही जवाफ दिनुपर्ने बेला आएको उहाँको भनाई थियो । एजेण्डा ल्याउने पार्टीले नेतृत्व गर्ने अवसर नपाउँदा जनताको चाहना पूरा हुन नसकेको भन्दै उहाँले संघीयता संस्थागत गर्न माओवादीको नेतृत्व आवश्यक भएको जिकिर गर्नुभयो । माओवादी पार्टीले सत्तामा रहँदा उज्यालो नेपालको अभियान लगायत जनताको पक्षमा धेरै राम्रो कामहरु परेको पनि उहाँले बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्यसमेत रहेकी मोक्तानले पार्टीलाई व्यवस्थित गराउन विधि आएको र अब सोही विधि अनुसार नै व्यवस्थित संगठन निर्माण गरी अघि बढिने पनि स्पष्ट पार्नुभयो । विगतमा संगठनहरु व्यवस्थित नहुँदा पार्टी केही कमजोर देखिएको भन्दै उहाँले अब पार्टीले त्यस्तो गल्ती नगर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले माओवादी शक्ति छिट्टै नै देशको नेतृत्व गर्ने दिशातर्फ उन्मुख भैरहेको बताउनुभयो । देशलाई भड्खालोमा हाल्नेहरु आफ्नो असली चेहरा लुकाएर गाउँ पसेको भन्दै उहाँले असल नेतृत्व चिन्ने जिम्मेवारी जनताको नै भएको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) स्कूलिङ विभागका संयोजक विजय गौतमले परिवर्तन र विकासको संवाहक शक्ति नै माओवादी केन्द्र रहेको दावी गर्नुभयो । केपी ओली लगायत विपक्षीहरु परिवर्तनलाई रोक्ने र प्रतिगामी रहेको भन्दै उहाँले परिवर्तनलाई माओवादीले मात्रै संस्थागत गर्न सक्ने प्रष्ट पार्नुभयो । माओवादीलाई किन देशको नेतृत्व दिनुपर्छ भन्ने सन्दर्भमा प्रष्ट्याउँदै उहाँले भन्नुभयो, ‘दलाल पुँजीपतिहरुको पार्टीलाई भोट हालेर हाम्रो समृद्धि हुनेवाला छैन ।’ कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, नेकपा (माओवादी केन्द्र) मकवानपुरका सचिवालय सदस्य लक्ष्मी माझी, सदस्यहरु ज्ञानकुमार थोकर, परशुराम गौतम, लोकनाथ गौतम, रामहरि गौतम, निर्वाचन आयोग संयोजक जीवन गोले लगायतले शुभकामना व्यक्त गरेका थिए ।
नेकपा (माओवादी केन्द्र) दोस्रो बकैया गाउँपालिका सम्मेलनले भक्तबहादुर खत्रीको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा मोतिलाल सिंगार, चन्द्रबहादुर न्यासुर र अशोक जिम्बा चयन भएका छन् । कमिटीको सचिवमा विमल नेपाल, सह–सचिवमा विष्णु नेगी र कोषाध्यक्षमा ठूलीमाया मोक्तान चयन भएका छन् । नेकपा (माओवादी केन्द्र) बकैया गाउँपालिका इन्चार्ज लक्ष्मी पाख्रिनको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा माओवादी मकवानपुर इञ्चार्ज एवम् केन्द्रीय सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा माओवादी मकवानपुर अध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु)को विशेष आतिथ्यता रहेको थियो । बकैया गाउँपालिका–७, स्थित धनेश्वर पार्कमा भएको कार्यक्रममा गाउँपालिकाको सबै वडाबाट प्रतिनिधिमूलक रुपमा कार्यकर्ताहरु सहभागी थिए ।