हरिप्रसाद भण्डारी: “आज पनि काम मिलेन ?” मलिन अनुहार बनाएर घर फर्कंदै गरेको लोग्नेलाई देखेर बिजुलीले सोधी ।
सन्ते केही बोलेन । आँगनको डिलमा बस्यो र इसाराले पानी माग्यो । बिजुलीले भित्रबाट एक लोहोटा पानी ल्याएर दिई ।
‘आज पनि रित्तै आए, भरे केटाकेटीले के खाने हुन् ?’ बिजुलीले मनमनै कुरा खेलाई ।
लोग्नेले एकैसासमा लोहोटा रित्यायो र लामो सास फेर्दै भुइँमा राख्यो । बिजुलीले जिज्ञासु नजरले हेरी मात्र केही बोलिन ।
“त्यो काम पनि नगर्ने भएँ मैले ।” अस्कोटको गोजीबाट चुरोटको ठुटो निकाल्दै सन्तेले भन्यो।
लोग्नेको मूर्खता देखेर बिजुली मनमनै रिसाई ।
“ज्यालामा चित्त बुझेन ?”
“हैन, ज्याला त डबल दिने रे, पापीहरूले ।”
“त्यसो भए के भयो त ?”
सन्ते केहीबेर घोरियो, अनि आफ्नो मनको पीडा पोख्यो‚ “त्यस्तो काम गर्दिनँ । ठूलाबडाले जे–जे भन्छन् त्यै गर्न सक्दिनँ । मेरो मनैले मान्दैन । गरिब छु भन्दैमा इमानै बेच्न त भए न नि गाँठे । जानी–जानी दुनियाँका भागमा बिष कसरी हालूँ, भन् त ।”
“हुतिहारा हौ तिमी । पाल्न नसक्ने भए किन पाएको नि यत्रा छोराछोरी ?” बिजुली च्याट्ठ्ठिई ।
“के भनिस् हँ तैंले ? ज्याला पाइन्छ भन्दैमा गोदाममा गएर शुद्ध दाल‚ चामलमा बालुवा, कङ्कड र सिसाका टुक्रा मिसाउने काम गरूँ त ?” आक्रोशित भावमा सन्तेले भन्यो ।
ंंं
पुस ३‚ २०६३
काठमाडौं ।
काला सर्पको खोजी लघुकथा सङ्ग्रहबाट साभार ।