गजलकार युवराज विश्वकर्मा

युवराज विश्वकर्मा (एकल योद्धा)/

झुपडीमा अब टिनको, छाना फेरिने छ,
मेरै हातले इतिहासको, पाना फेरिने छ,
मेची महाकाली होइन टिस्टादेखि काँकडाको,
बिरताले नयाँ राष्ट्रिय, गाना फेरिने छ ।

गरिबीको खाडल भित्र, माटो ओढी बाँचिरहेका,
दशैं आए छाला छोप्ने, त्यान्द्रो सपना साँचिरहेका,
जुठे, हर्के, झुम्री र पल्ला घरे काइला दाइको,
यो जाडोमा एकजोर नयाँ, नाना फेरिने छ ।

नफक्रीँदै चुँडिएका सविता, सम्झना र निर्मलाहरुको,
बदला लिनु छ चिच्याइ रहेका, ती एक–एक पलहरुको,
बलात्कारीलाइ आश्रय दिने, सुन ए तेरो कानून,
पैसामा किनबेच हुने पुलिस, थाना फेरिने छ ।

भलै नहोला अमेरिका, कोरियाका झैँ अस्त्र सान,
तर उच्च रहनेछ, गोर्खालीको स्वाभिमान,
जन्मिसके म जस्तै हजारौँ योद्धा चोक–चोकमा,
गए तेरा दिन अब, जमाना फेरिने छ ।