हेटौंडाः महिला हिंसामुक्त पालिका घोषणा लगायत महिलासँग सम्बन्धित १२ बुँदे माग राख्दै बकैयाका महिलाहरुले मंगलबार गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बकैया गाउँ कमिटीले यहाँस्थित बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।
शिक्षण संस्था, स्वास्थ्य संस्था वरपर धुम्रपान, मद्यपान र जुवातास निषेध क्षेत्र घोषणा गरिनुपर्ने, माध्यमिक तहसम्म विद्यालयलाई किशोरी मैत्री बनाउनुपर्ने, सेफ हाउस व्यवस्था हुनुपर्ने लगायतका माग ज्ञापन पत्रमा समेटिएको छ । साथै, ज्ञापन पत्रमा लैंगिक उत्तरदायी बजेट १० प्रतिशतको व्यवस्था गरी महिलाहरुको क्षमता तथा सीप विकास गर्नुपर्ने, सबै महिलाहरुलाई अस्पतालमै सुत्केरी गराउने व्यवस्था हुनुपर्ने, समान कामको समान ज्याला कार्यान्वयन गर्नुपर्ने जस्ता माग छन् ।
ज्ञापन पत्रको विवरण यस्तो छः
संगठनका जिल्ला अध्यक्ष लक्ष्मी पाख्रिन, केन्द्रीय सदस्य लक्ष्मी माझी लगायत संगठनका नेतृहरुको उपस्थितिमा बकैया गाउँ कमिटीका महिलाहरुले ज्ञापन पत्र बुझाएका हुन् । केन्द्रीय योजना अनुसार देशैभरका पालिकामा ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत बकैयामा पनि ज्ञापन पत्र बुझाईएको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बकैया गाउँ कमिटी अध्यक्ष लक्ष्मी सिलवालले जानकारी दिनुभयो ।
ज्ञापन पत्र बुझ्दै बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालले गाउँपालिकाले सम्बन्धित विषयहरुमा ध्यान दिने बताउनुभयो । यस्ता संवेदनशील विषयहरु उठाइदिएकोमा महिलाहरुलाई धन्यवाद दिँदै अध्यक्ष खनालले कतिपय विषयहरु लागु भइसकेको र बाँकी विषयमा पनि सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराउने र यी मागहरु लागु गर्ने वचन दिनुभयो ।